काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी प्राधिकरणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद्को आइतबारको बैठकबाट नियुक्त भएका सिलवालले हालको सेवा प्रवाहबाट ग्राहकहरूले गुणस्तरको प्रत्याभूति गर्न नसकेको स्वीकार गर्दै यसको सुधारमा जोड दिएका छन् ।
कार्यकारी निर्देशक सिलवालले आफ्नो कार्यकालमा गुणस्तरीय विद्युत् आपूर्तिः ग्राहकहरूलाई भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्नु प्रमुख लक्ष्य रहेको बताए ।
विद्युत्को पहुँच विस्तारः देशभर विद्युत् पहुँच नपुगेका स्थानहरूमा विद्युतीकरणलाई तीव्रता दिइने उनको भनाइ छ । यस्तै, निजी क्षेत्रसँगको सहकार्यमा विद्युत् खरिद–बिक्री बढाउने र भारत लगायतका मुलुकहरूसँग आयात–निर्यातको सम्भावना अध्ययन गरी वृद्धि गरिने तथा प्राधिकरणको आर्थिक तथा प्राविधिक सुदृढीकरणः प्राधिकरणलाई आर्थिक र प्राविधिक दुवै रूपले बलियो बनाउन आन्तरिक सुधारमा जोड दिइने उनको दाबी छ ।
सिलवालले सार्वजनिक संस्थाबाट सेवा पाइरहेका युवा पुस्ताका ग्राहकहरूको सन्तुष्टिमा विशेष जोड दिएका छन् । । ‘युवा पुस्ताको अपेक्षा ठुलो छ, तर जुन हिसाबले सेवा डेलिभरी पाइराखेका छन्, उनीहरू सन्तुष्ट छैनन् । अब उनीहरू सन्तुष्ट हुने गरी हामीले सेवा प्रवाहमा सुधार गर्नुपर्छ,’ उनले भने । औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिइने उनको भनाइ छ ।
निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउँदै विद्युत् खरिद सम्झौतालाई निरन्तरता दिइनेछ । नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाटको ऊर्जा रोडम्यापलाई आफ्नो कार्यदिशा मान्दै निजी क्षेत्रको सहयोगमा मात्रै यो लक्ष्य हासिल गर्न सकिने उनले बताए ।
प्राधिकरणको आन्तरिक सुदृढीकरणलाई पनि उनले आफ्नो प्रमुख एजेन्डा बताएका छन् । यसका साथै, डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुलीलाई पनि प्राथमिकतामा राखिने उनले स्पष्ट पारे ।