काठमाडौं । अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा प्रत्यक्ष गुनासो सिधै अर्थमन्त्री समक्ष गर्न सकिने भएको छ ।
यसका लागि अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर एट एमओएफ डटजीओभी डटएनपी वा गुनासो एट एमओएफ डटजीओभी डटएनपीमा मा सिधै गुनासो पठाउन सकिने अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएको, घुस वा रिसवत मागेको, वा सेवा प्रवाहमा अनावश्यक ढिलाइ गरेको अवस्थामा समेत नागरिकहरूले सिधै गुनासो गर्न सक्नेछन् ।
अर्थ मन्त्रालयले यस कदमले सरकारी सेवा अधिक पारदर्शी र जवाफदेही हुने अपेक्षा राखेको जनाएको छ ।