बालेनलाई ओलीले भने - पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनाबद्ध काम हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी घटनालाई योजनाबद्ध कामका रूपमा व्याख्या गरेका छन् ।

विजया दशमीको अवसरमा मंगलबार गुण्डुस्थित निवासमा पार्टी नेता तथा कार्यकर्तासँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले देश र इतिहासलाई माया गर्नेले सिंहदरबार जलाउन नसक्ने दाबी गरे । उनले सरकारी सम्पत्तिमाथि भएको आक्रमणलाई योजनाबद्ध र गैरजिम्मेवार गतिविधि भन्दै कडा आलोचना गरे ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै ओलीले 'पहिलादेखि नै सिंहदरबार जलाइदिन्छु भनेर भन्दै आएको' स्मरण गराउँदै आगजनी त्यसकै परिणामस्वरूप योजनाबद्ध ढंगले भएको टिप्पणी गरे ।

उनले भने, 'सिंहदरबार, संसद भवन जलाउने काम देशप्रेमीले गर्ने होइन । यो अरु घुसपैठ तत्वले गरेको हो । जो पहिलादेखि नै सिंहदरबार जलाइन्छ भनी भन्दै आएका थिए, यही योजनावद्ध कामको परिणाम हो ।'

अध्यक्ष ओलीले युवापुस्तामा क्यारेक्टरभन्दा ज्ञानमा मात्र जोड दिइँदा असभ्य र गैरजिम्मेवार व्यवहार बढेको उल्लेख गर्दै राष्ट्रलाई सच्याउने जिम्मेवारी नेपालीकै काँधमा रहेको बताए । उनले हाल नेपाल बद्नाम भएको, धेरै देशले भिसा रोकिदिएको र कामको अवसर बन्द भएको अवस्था राष्ट्रका लागि लज्जास्पद रहेको बताए ।

'नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्छ । ठूलो क्षति भए पनि हामी हरेस खानु हुँदैन । देशलाई हामीले नै बनाउने हो,' ओलीले भने ।

Share News