सुदूरपश्चिम सरकारले रोक्यो १० लाख कमका आयोजना, बैठक र भ्रमण भत्तामा ५० प्रतिशत कटौती

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ भन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहको निवास धनगढीमा आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रुपैयाँभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

साथै प्रदेश सरकारमातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगराउने, एउटै क्रियाकलाप नम्बरमा समावेश भएका दुई वा दुईभन्दा बढी खानेपानी तथा सिँचाइ बाहेकका अन्य आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल विनियोजित रकममा छपाइ तथा प्रकाशनतर्फ ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठीतर्फ विनियोजित बजेटको ५० प्रतिशत कटौती गर्ने, अनुभव आदानप्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समारोह, उत्सव मनाउने लगायत कार्यक्रम पनि कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

यसैबीच मुख्यमन्त्री शाहको उपस्थितिमा आजै बसेको प्रदेश सुरक्षा समितिको बैठकमा नेपाल प्रहरीले लागू गरेको चाडपर्व लक्षित सुरक्षा योजनाका बारेमा छलफल भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री शाहले चाडपर्वको समयमा अवाञ्छित एवं आपराधिक क्रियाकलाप बढ्न सक्ने तर्फ ध्यान दिई शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्नका लागि पहल गर्न सरोकार भएका सबैलाई निर्देशन दिए ।

गत भदौ २३ र २४ गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई समान्यीकरण गर्न, नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन नेपाल प्रहरी र मातहतका निकाय, कार्यालय र अन्य सरकारी कार्यालय, नागरिक समाज, पेसागत समूहसँग नागरिक संवाद कार्यक्रम र सद्भाव प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न, चाडपर्वमा हुनसक्ने कालोबजारीका साथै भारतसँग जोडिएका प्रदेशका सीमा नाकामा हुन सक्ने लुटपाटका घटना रोकथाम गर्न, नागरिकको आवागमनमा हुनसक्ने समस्यालाई समाधानका लागि पहल गर्न पनि मुख्यमन्त्री शाहले निर्देशन दिए ।

Share News