काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत महामहिम माइडीया टोरुबीच आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालमा जापानले पुर्याउँदै आएको सहयोग तथा नेपालको हालको परिवर्तित अवस्थाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माणसहितका आर्थिक–सामाजिक विकासका कार्यलाई निरन्तरता दिइने बताएका छन् ।
उक्त अवसरमा निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना, तनहुँ जलविद्युत आयोजना, निकट भविष्यमा सम्झौता हुन लागेको कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना तथा आपतकालीन पुनःनिर्माण कार्यक्रमअन्तर्गतको सिन्धुली सडक पुनर्संरचना लगायतका विषयमा पनि कुराकानी भएको जनाइएको छ ।
भेटवार्तामा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माको पनि उपस्थिति रहेको थियो ।