काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले शीर्ष नेताहरू नेतृत्वमा रहिरहन बहानाबाजी गर्न थालेको आरोप लगाएका छन् । जेनजी आन्दोलनको माग नेतृत्व परिवर्तन भए पनि संकटको बेला नेतृत्वलाई जोगाउनुपर्ने भन्दै पुराना नेताहरूले कार्यकर्ताको भावना दोहन गर्न थालेको उनले बताए ।
महासचिव भुसालका अनुसार मुलुकलाई संकटमा पुर्याउने शक्तिहरू नै अहिले आफूलाई बचाउन भाष्य खडा गरिरहेका छन् । 'वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन्, मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन्,' उनले भने ।
भुसालले दलका नेताहरू पुनः सत्तामा रहन बहानाबाजी गर्न थालेको दाबी गर्दै यस्तो परिपाटीले दलहरूलाई जनतासामु लैजानै नसक्ने बताए । उनका अनुसार आगामी निर्वाचन गराउन नसक्दा मुलुक अर्कै दिशामा जानेछ ।
'चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरू सक्रिय छन्। प्रत्यक्ष कार्यकारी राष्ट्रपति लगायत पपुलिस्ट नाराहरू उठाउँदैछन्,' भुसालले भने, 'समाजका पुराना, परम्परागत र राष्ट्रवादी भनिने शक्तिहरूले पनि संविधानविरुद्ध गतिविधि गर्ने संकेत देखिएका छन् ।'
अर्थतन्त्रमा ठूलो धक्का लागिसकेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले मुलुकलाई बहुपक्षीय द्वन्द्वमा फसाउने चेतावनी दिए ।