डार्क अर्थात् पुरै अँध्यारो पृष्ठभूमि । थचक्क भूँईमा थच्चिएको बालक । दुई घुँडामा दुई हात राखेर घोप्टिएको अवस्था ।
आँखाबाट झरेको आँशुको थोप्ला प्रष्ट गालामा देखिन्छ । ऊ एक्लो छ ।
बत्तिको उज्यालोले कालो पन्छाउने प्रयास गरेको छ । बालकले आँखा टुलुक्क हेरेको छ ।
‘दशैं २०८२’ शब्दमा यत्ति लेखिएको छ । त्यही फोटो पोष्ट गरे भाटभटेनीका सीओओ पानु पौडेलले फूलपातीका दिन । १५ दिने दशैंको मध्यान्तरमा ।
विगत १८ वर्षदेखि भाटभटेनीमा आवद्ध पौडेल भाटभटेनीका वरिष्ठतम् कर्मचारी हुन् । उनले 'दशैं २०८२' को डार्क फोटोसँगै 'स्याड स्ट्याटस' पनि राखेका छन् ।
‘हर्ष, उमंग र खुसीको पर्व दशैं, तर २०८२ को यस क्षणमा हामीले कहिल्यै नसोचेको पीडा र अन्धकारको सामना गरिरहनु परेको छ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका अधिकांश स्टोरहरू तोडफोडमा परे र १२ वटा स्टोरहरू जलेर पूर्ण रूपमा नष्ट भए । यो कुनै सामान्य घटना होइन । यो आतंककारी शैलीमा गरिएको कार्यले हामी सबैमा गहिरो आघात पुर्याएको छ,' पानुले लेखेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ ।
'हामी र हाम्रो टिमलाई त्यसदिनको घटनाले निकै दु:खी तुल्याएको छ । हाम्रो मनमा उमंगको पर्वले पनि खुसी दिन सकिरहेको छैन । मनमा गहिरो स्तब्धता लुकेको छ । दशैंजस्तो सबैभन्दा ठूलो चाड नजिकिँदै गर्दा, हाम्रा कर्मचारीहरू उत्सव मनाउने कुनै मनोवृत्तिमा छैनन् । डर र अन्यायको अनुभूति उनीहरूको मुहारमा स्पष्ट देखिन्छ' पानुले लेखेका छन् ।
पानुलाई जस्तै यस पटक भाटभटेनीमा आवद्ध झण्डै १० हजार कर्मचारीको मन कुँडिएको छ । भलै भाटभटेनीको प्रबन्ध निर्देशन मिनबहादुर गुरुङले यस पीडाको क्षणमा पनि कर्मचारी नहटाउने र तलब सुविधा पनि कटौती नगर्ने प्रतिवद्धता जनाएका छन् ।
भाटभटेनीका सीओओ पानु पौडेल लेख्छन्, 'हाम्रो संरचना मात्र होइन, मनोबल पनि भत्काइएको छ । तर, हामी आशा गुमाउँदैनौं । हामी फेरि उठ्नेछौं-अझ मजबुद भएर, अझ एकतामा बाँधिएर । यो अन्धकारका पछाडि उज्यालो पक्कै आउनेछ ।’
ध्वस्त भएका १२ वटा स्टोर बन्द भएपनि १६ वटा स्टोरहरु नियमित सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ । खुलेका भाटभटेनीहरुमा भने ग्राहकहरुको चाप उच्च रहेको पाइएको छ । ध्वस्त भएका १२ सुपरमार्केट पनि छिट्टै सञ्चालनमा ल्याउने प्रबन्ध निर्देशन गुरुङले बताएका छन् ।