५ वर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७/७८ मा १ लाख ५३ हजार ५३३, २०७८/७९ मा २ लाख ८२ हजार २३७, २०७९/८० मा ३ लाख २८ हजार ८४०, २०८०/८१ मा ३ लाख २९ हजार ५११ र २०८१/८२ मा ३ लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सह-व्यवस्थापक पराजुलीले बताए । उनका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् ।  

सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (इएनटी) विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् ।

विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए । 

Share News