काठमाडौं । बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय हुँदा मधेस, बागमती र कोशी प्रदेशमा तीव्र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार २४ घण्टाको अवधिमा असोज १८ गते बिहान ४:३० देखि असोज १९ गते बिहान ४:३० सम्म सबैभन्दा धेरै ३५८ मिमी वर्षा रौतहटको महेशपुरमा मापन गरिएको छ । त्यस्तै २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ केन्द्रमा वर्षा मापन भएको विभागले जनाएको छ ।
विभागका अनुसार १०५ केन्द्रमा ५० मिमीभन्दा बढी वर्षा भएको छ । यस्तै ६८ केन्द्रमा १०० मिमीभन्दा बढी वर्षा भएको छ भने २१ केन्द्रमा २०० मिमीभन्दा बढी पानी परेको छ । जम्मा ५ केन्द्रमा मात्रै ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ। इलामको वहमाली, कन्याम, पर्साको मुडली, रौतहटको महेशपुर र गौरमा ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ ।
नदीमा उच्च सतर्कता अपनाउन आग्रह
लगातारको वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, लालबकैया, कमला लगायतका नदीमा जलस्तरले सतर्कता तह पार गरिसकेको थियो । हाल ती नदीमा जलस्तर क्रमशः घटिरहेको महाशाखाले जनाएको छ ।
यद्यपि, असोज १९ गते बिहान कोशी नदीले खतराको तह पार गरिसकेको थियो भने यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा पनि खतराको तह पार भएको जनाइएको छ । त्यस्तै, कन्काई, बुढीखोला, लोहना, खेसरैया, विरिङ जस्ता चुरे तथा महाभारत क्षेत्रबाट उत्पत्ति भएका साना नदीमा पनि खतराको तह पार भएको छ। तर अहिले ती नदीमा पनि जलस्तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।
मनसुन अझै विदा भइसकेको छैन
महाशाखाका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएर मौसममा सुधार आउन थालेको भए पनि मनसुनको औपचारिक विदाइ भइसकेको छैन । त्यसैले अझै सतर्कता आवश्यक छ ।
सरोकारवालाहरूलाई विशेष गरी नदी तटीय क्षेत्र तथा डुबान प्रभावित क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।