बालेनले कात्तिक ३० भित्र नयाँ पार्टी खोल्न सम्भव छ ?

काठमाडौं । अहिले नेपाली राजनीतिमा सबैभन्दा बढी चासोका रुपमा हेरिएका पात्र हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । स्वतन्त्र उम्मेद्वार बनेर महानगरको मेयरमा विजयी बनेका बालेन नेपाली राजनीतिमा थप बलियो र प्रभावशाली बन्दै गएका छन् । 

सञ्चार माध्यम र सार्वजनिक मञ्चमा देखिन खासै नरुचाउने उनी सामाजिक सञ्जाललाई प्रमुख हतियार बनाएर सर्वसाधारण सामु आफ्ना मत र धारणाहरु राख्दै आएका छन् । 

विशेषगरि भदौ २३ र २४ को जेनजी आन्दोलन हुनुमा बालेनको प्रमुख हात रहेको भन्नेहरू पनि प्रशस्त छन् । उनले जेनजीहरुलाई खुलेरै अगाडि बढ्न समेत सामाजिक सञ्जालमार्फत ढाडस दिएका थिए । जेनजीहरुले भदौ २४ गते विध्वंश मच्चाएपछि अब नगर, सार्वजनिक संरचना नजलाउ भनेर सामाजिक सञ्जालमा पोष्ट राखेर फर्काउने पनि उनै बालेन थिए । 

जेनजी आन्दोलनपछि उनै बालेनको थप चर्चा हुन थालेको छ । धेरैले उनले अब नयाँ पार्टी खोलेर अगाडि बढ्न सक्ने विश्लेषण गरिरहेका छन् भने कतिपयले उनी आफ्नो कार्यकालभर महानगरकै मेयर भएर बस्न सक्ने अनुमान पनि गरिरहेका छन् । 

जेनजीहरुले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दा उनले फोन स्विच अफ गरेर बसे । धेरैले ६ महिनापछि हुने संघीय चुनावमा उनी पार्टी खोलेर अगाडि बढ्ने तयारी गरिरहेकोले अहिले ६ महिनाका लागि प्रधानमन्त्री नबेको टिप्पणी पनि गरिरहेका छन् । तर, यसबारे बालेनले भने मुख खोलेका छैनन् ।

बालेनको नजिक रहेर काम गर्नेहरु भने उनले पार्टी खोलेर अगाडि बढ्न सक्ने सम्भावना रहेको सुनाउँछन् । अहिले जेनजीहरुबाट पनि उनलाई नयाँ पार्टी खोलेर अगाडि बढ्न दबाब आइरहेको बुझिएको छ । 

अहिले बालेनकै समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । उनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । त्यसैले पनि वर्तमान अन्तरिम सरकार रहेको बेला हुने चुनावमा उनले पार्टी खोलेर अगाडि बढेमा आफूलाई सरकारबाट सहयोग मिल्न सक्ने आशामा बालेन देखिन्छन् । 

त्यसैले पनि उनलाई पार्टी खोल्ने यो सुनौलो अवसर हो । तर, समय धेरै छैन । अन्तरिम सरकारले आगामी पाmगुन २१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ । 

निर्वाचन आयोगले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । यदि अब बालेनले पार्टी खोलेमा पनि फागुन २१ को चुनावमा भाग लिन कात्तिक ३० गते अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्नेछ । त्यसका लागि धेरै समय छैन । किनकी नयाँ दलका लागि गर्नुपर्ने तयारी धेरै नै हुन्छ । 

आयोगको कार्यतालिकाले बालेनलाई दबाब परेको छ । अब उनले नयाँ पार्टी खोल्छन् वा खोल्दैनन् भन्ने विषय ठूलो चासोका रुपमा हेरिएको छ । बालेनको सचिवालयमा रहेर काम गरिरहेका एक सदस्यले पार्टी खोल्ने विषयमा चर्चा भए पनि आफूसँग पूर्ण सूचना नभएको जानकारी दिए । 

‘उहाँले अहिलेसम्म पार्टी खोल्नेबारे कुनै कुरा भन्नु भएको छैन, जेनजीहरुबाटै दबाब भने आइरहेको छ, जनताले पाँच वर्षका लागि मेयरमा निर्वाचित गरेको हुनाले बिचमै छोड्नु होला जस्तो मनसाय म देख्दिनँ,’ उनले भने । 

Share News