काठमाडौं । जेनजी प्रदर्शनमा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले फौजदारी अपराधका अनुसन्धानका लागि आफ्नो प्रतिवेदन पर्खिनु नपर्ने स्पष्ट पारेको छ ।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन गृहमन्त्रालयले प्रहरीलाई दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले अनुसन्धान तत्काल नगर्न भनिएको थियो ।
तर आयोगले भने उक्त निर्देशनविपरीत अपराध अनुसन्धान तत्काल सुरु गर्न सकिने जनाएको हो । आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।'
आयोगले आफ्नो भूमिकालाई तथ्यसंगत छानबिन, प्रतिवेदन तयार पार्ने र सिफारिस गर्नेमा सीमित राख्दै नियमित प्रहरी अनुसन्धान र कानुनी प्रक्रिया अबिलम्ब अघि बढाउन सकिने उल्लेख गरेको छ ।