एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा उपचार गर्दा छुट हुने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब वीरगंजस्थित किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् । आँखा उपचारमा छुट उपलब्ध गराउने उद्देश्यले एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार, बैंकका ग्राहकहरूले आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालका विभिन्न सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, साथै मोबैंक एप मार्फत भुक्तानी गर्दा पनि सो सुविधा पाउनेछन् ।

बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय आँखा उपचारमा सहज पहुँच दिलाउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोग प्रवर्द्धन गर्नेछ । यसले मुलुकलाई नगदरहित कारोबारतर्फ अघि बढाउन सहयोग पुर्याउने विश्वास बैंकले जनाएको छ ।

Share News