जेनजीका माग पूरा नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था मजबुत

काठमाडौं । जेनजीहरुका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान माईतीघर मण्डलामा जेनजीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन् । उनीहरू जेनजीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथिति विरुद्ध कुनै कदम नचालेको, जेनजी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् । प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । 

जेनजीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरू बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । 

Share News