औषधि प्रतिनिधिहरूमाथि फैलिएका आरोप निराधार, संघले गर्‍यो खण्डन

काठमाडौं । नेपाल मेडिकल एण्ड सेल्स रिप्रेसेन्टेटिभ्स संघ, काठमाडौं इकाई (एनएमएसआरए) ले औषधि प्रतिनिधिहरूमाथि हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका आरोपहरू पूर्ण रूपमा गलत र निराधार भएको स्पष्ट पारेको छ ।

संघले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा खटिएका प्रतिनिधिहरूलाई गैरव्यावसायिक वा अनैतिक गतिविधिमा संलग्न भएको भनी फैलाइएका समाचारहरू भ्रामक मात्र नभई प्रतिनिधिहरूको इज्जतमा प्रहार गर्ने उद्देश्यले गरेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘औषधि प्रतिनिधिहरू स्वास्थ्य क्षेत्रका अभिन्न अंग हुन्। उनीहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई वैज्ञानिक जानकारी र नवीनतम औषधीय तथ्याङ्क उपलब्ध गराउने महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । औषधि प्रतिनिधिहरूको मर्यादा, इमानदारी र व्यावसायिकता माथि प्रश्न उठाउने कुनै पनि प्रयास अस्वीकार्य छ ।’ 

संघले यसरी फैलाइएका गलत सूचनाले व्यक्तिगत मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणालीको विश्वसनीयता र सन्तुलनमा समेत नकारात्मक असर पर्ने चेतावनी दिएको छ। 

साथै संघले आफ्ना सदस्यहरू कानुन, आचारसंहिता र स्वास्थ्य निकायको निर्देशनअनुसार कार्यरत रहेको बताउँदै सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण सूचनाविरुद्ध कडा कानूनी कदम चाल्न सकिने चेतावनीसमेत दिएको छ ।

संघले संविधानले सुनिश्चित गरेको मर्यादित पेशागत अधिकार, सुरक्षित कार्य वातावरण र स्वतन्त्रतापूर्वक काम गर्ने हक औषधि प्रतिनिधिहरूलाई पनि लागू हुने उल्लेख गरेको छ ।

Share News