राष्ट्रपतिसँग वार्तामा सहभागी हुन नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी युवाहरुको टोलीबीच भइरहेको छलफलमा सहभागी हुन नपाएका केही युवाहरुले शीतल निवास अगाडि विरोध प्रदर्शन गरेका छन् ।

शीतल निवास बाहिर भेला भएका युवाहरुले आफूहरुलाई वार्तामा सहभागी नगराएको भन्दै नाराबाजी गरेका हुन्। उनीहरुले ‘सबै प्रतिनिधिलाई समावेश गर’ भन्ने माग गर्दै चर्को नाराबाजी गरेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसहित जेनजी युवाहरूसँग आज बिहान शीतल निवासमा छलफल आयोजना गरेका हुन् । छलफलमा सुदन गुरुङ नेतृत्वको टोलीमात्र प्रवेश पाएपछि अन्य समूहका युवाहरु असन्तुष्ट बनेका हुन् ।

शीतल निवास बाहिर अहिले ठूलो संख्यामा जेनजी युवा जम्मा भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन र युवाहरुलाई सम्झाउन प्रयास गरिरहेको छ ।

राष्ट्रपतिसँगको छलफलमा सुरुवाती रूपमा १७ जना प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेर २० जनाभन्दा बढी पुगेको एक जेनजी अगुवाले बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र जिम्मेवार शासनको मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते देशव्यापी आन्दोलनमा उत्रिएका थिए। सो आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।

आन्दोलनपछि जेनजी युवाहरुको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन्। उनलाई आगामी फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचन तयारीका विषयमा जेनजी युवासँग परामर्श गर्न आजको वार्ता आयोजना गरिएको हो । तर जेनजी समूहभित्र नै औपचारिक प्रतिनिधित्वबारे विवाद रहँदै आएको छ ।

Share News