काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जेड युवा आन्दोलनमा घटेका घटनाका सम्बन्धमा उनीहरू विरुद्ध अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको हो ।
नेविसंघले बालेन र सुदनले विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन उक्साएको, आन्दोलनका क्रममा आगजनी र तोडफोड गरी राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाएको छ । संगठनले उनीहरूमाथि तत्काल अनुसन्धान सुरु गर्न माग गरेको छ ।
उजुरी दर्ता गर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन् । उनीहरूले प्रहरीलाई २४ घण्टाभित्र उजुरी दर्ता गरी बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा भएको दमनका विरोधमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध पनि जाहेरी दिएका थिए । सो घटनापछि नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दर्ता गरेको थियो ।