विश्वकप क्रिकेट छनोट: युएईमाथि नेपालको जित, आज कतारसँग खेल्ने

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विजयी भएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ-१ मा आइतबार भएको खेलमा नेपालले युएईलाई १ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।

युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ३ चौका र ५ छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए ।

युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १/१ विकेट लिए । नेपालले दोस्रो खेल आज कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजे हुनेछ ।

Share News