नेपाल पुनर्बीमाले बीमा कम्पनीहरूलाई भुक्तानी गर्‍यो डेढ अर्ब रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पाैडेल र सीईओ सुरेन्द्र थापा ।

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई सुरु गरेको छ । कम्पनीका अनुसार हालसम्म बीमा कम्पनीहरूमा डेढ अर्ब रुपैयाँभन्दा बढी रकम एडभान्स स्वरूप गइसकेको छ ।

कम्पनीले शुक्रबारदेखि बीमा कम्पनीहरूलाई दाबीबापतको भुक्तानी दिन सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार ठूला दाबी परेका कम्पनीहरू सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)लाई भुक्तानी दिइसकेको छ । 

कम्पनी स्रोतका अनुसार पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरूलाई भुक्तानी भइसकेको र दोस्रो चरणमा साना दाबी परेका कम्पनीहरुलाई पनि भुक्तानी दिन सुरु भइसकेको छ । 

‘पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरुलाई हामीले भुक्तानी दिइसकेका छौं । अब दोस्रो चरणमा अरु दाबीहरुलाई पनि भुक्तानी दिन सुरु गरेका छौं, तिहारसम्मसबै कम्पनीहरुलाई एडभान्स बाँड्छौं,’ कम्पनी स्रोतले भन्यो । 

नेपाल बीमा प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ । 

प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो । 

नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । ‘बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरूको रिपोर्ट आएपछि बिना झन्झट अगाडि बढाउने हाम्रो तयारी छ ।

Share News