काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा क्षतिग्रस्त व्यावसायिक भवन तथा भौतिक क्षतिको मूल्यांकनको लागि विदेशी सर्भेयर खटाउने भएको छ । हिल्टन, भाटभटेनीजस्ता ठूलो क्षति भएका व्यवसायिक भवनहरूको मूल्यांकनको लागि बीमा कम्पनीहरूले विदेशी सर्भेयर खटाइने भएका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार विदेशी सर्भेयर ल्याउनका लागि प्राधिकरणमा दुइटा निवेदन परेको छ ।
बीमा कम्पनीहरूले क्षति भइसकेपछि आवश्यकताअनुसार फिल्डमा स्थानीय सर्भेयर खटाउँछन् । तर ठूलो क्षति भएको अवस्थामा कम्पनीहरूले पुनर्बीमा कम्पनीहरूसँग समन्वय गरेर जोइन्ट सर्भेयर खटाउने गरेको छ ।
गत भदौमा जेनजी प्रर्दशनको क्रमममा देशमा ठूलो धनजनको क्षति भएको छ । हिल्टन, भाटभटेनीलगायतका व्यवसायिक भवनहरू पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको कारण जोइन्ट सर्भेयर आवश्यक परेको बीमा कम्पनीहरूले बताएका छन् ।
प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ ।
प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो ।