काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बुधबार अमेरिकाको वासिङ्टन डीसीमा विभिन्न देशका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री खनालले संयुक्त राज्य अमेरिकाका वाणिज्य प्रतिनिधिसँग नेपालको व्यापार र लगानी प्रवर्द्धनबारे छलफल गर्नुका साथै नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको म्याद थप गर्न आग्रह गरेका छन् । सो अवसरमा अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग पनि दुई देशबीचका सम्बन्ध सुदृढ गर्ने तथा आपसी हितका विषयमा संवाद भएको थियो ।
त्यसैगरी अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गर्दै नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । साउदी फन्डका प्रतिनिधिले नेपालमा सिंचाइ र जलविद्युत क्षेत्रमा लगानी जारी रहने जानकारी दिएका छन् ।
जाइका प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरुङ मार्ग, र कोटेश्वर सेक्सन आयोजना छिटो अघि बढाउनेबारे विस्तृत छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री खनालले त्यही दिन अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिवासनसँग समेत भेटवार्ता गरेका थिए । सो अवसरमा कोषको सहयोगमा सञ्चालित विस्तारित कर्जा कार्यक्रम लाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।
बैठकमा नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम गर्ने उपाय सम्बन्धी विचार आदान–प्रदान पनि भएको थियो । उक्त छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति रहेको थियो ।