काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार ललितपुरस्थित कुपण्डोलमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा बीमक कम्पनीका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्देश्य कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयिक परिमार्जन गर्नका लागि बीमकहरूको राय सुझाव संकलन गर्नु र प्राधिकरणले पहिलो पटक ल्याउन लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामा छलफल गर्नु रहेको थियो ।
कार्यक्रममा प्रस्तुत दुवै मस्यौदामाथि विस्तृत छलफल भएको प्राधिकरणले जनाएको छ । साथै, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिस व्यवस्था, कृषि बीमा रियल टाइम सफ्टवेयरको सञ्चालन स्थिति, देखिएका समस्या र समाधानका उपायबारे पनि बीमक प्रतिनिधिहरूले आफ्ना सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले निर्देशिका परिमार्जन प्रक्रिया सामयिक आवश्यकताअनुसार अघि बढाइरहेको बताए। उनले बीमकहरूलाई वास्तविक सुझावहरू दिन आग्रह गर्दै भने, 'प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको छ, त्यसका लागि पनि ठोस रायसुझाव दिनुहोस् ।'
सुवेदीले बीमकहरूबाट प्राप्त रायसुझावहरू समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए ।
कार्यक्रममा प्राधिकरणका निर्देशकहरू, कृषि बीमा शाखाका कर्मचारीहरू तथा निर्जीवन बीमा कम्पनीहरूको कृषि विभाग प्रमुखहरूको पनि सहभागिता रहेको थियो ।