बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बीमामा सूचीकृत, सरकारी अस्पताल जाने बढ्दै

काठमाडौं । बागलुङ जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन् । ती परिवारका १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो ।

गत वर्ष १ लाख २६ हजार बीमामा आबद्ध भएकामा हाल १५ हजार बढेर १ लाख ४१ हजार ५०९ जना पुगेका छन् । ९ वर्षअघि सुरु भएको स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । 

जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बीमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवाविन्दुमा थएिको स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । 

उनका अनुसार यसमा १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । 

‘स्वास्थ्य बीमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन् । क्रमशः स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढिरहेको छ,’ पौडेलले भने, ‘यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेका हुन् ।’

२ लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बीमा गर्न थालेको पौडेलको भनाइ छ ।

स्वास्थ्य बीमा कार्यक्रमअनुसार ५ जनासम्मको परिवारका सदस्यले वार्षिक ३ हजार ५०० रुपैयाँ तिर्नुपर्ने र ५ जनाभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रति सदस्य ७ सय रुपैयाँका दरले शुल्क बुझाइ एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिक १ लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ ।

बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बीमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताए । 

Share News