काठमाडौं । सुनको मूल्यले दिनहुँ नयाँ–नयाँ रेकर्ड तोड्दैछ । यो वर्ष अहिलेसम्म सुनको मूल्यमा करिब ६० प्रतिशतको वृद्धि भइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक सुनको मूल्य प्रतिऔंस ४ हजार ३०० अमेरिकी डलर पार गरेको छ । यससँगै सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो ।
सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ ।
बिहीबार सुनको मूल्य ३.१२ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ३३३ अमेरिकी डलर पुग्यो । यस आधारमा सुनको बजार पूँजीकरण (मार्केट क्याप) ३०.१२४ ट्रिलियन डलर पुगेको छ ।
एआई चिप उत्पादन गर्ने अमेरिकी कम्पनी एनभीडीयाको मार्केट क्याप ४.४२६ ट्रिलियन डलर छ । माइक्रोसफ्टको ३.८०२ ट्रिलियन, आइफोन बनाउने एप्पलको ३.६७२ ट्रिलियन, गुगलकी मातृ कम्पनी अल्फाबेटको ३.०४१ ट्रिलियन र चाँदीको बजार मूल्य ३.००१ ट्रिलियन डलर पुगेको छ । यसरी हेर्दा चाँदी विश्वको छैटौं सबैभन्दा मूल्यवान एसेट बनेको छ ।
नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँ बढी सुनले नयाँ कीर्तिमान कायम राखेको हो ।
यो वर्षमात्र सुनको बजार मूल्यमा ११ ट्रिलियन डलरको वृद्धि भएको छ । गोल्डम्यान स्याचका अनुसार सन् २०२६ डिसेम्बरसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ९०० डलर पुग्न सक्छ ।
सुनको माग तीव्र रूपमा बढ्नुका केही प्रमुख कारण छन् । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् ।
दोस्रो अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् ।