सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो १ अर्ब २६ करोडभन्दा बढी बीमा दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले हालसम्म १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । कम्पनीले जेनजी गत भदौको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट प्रभावित बीमितहरूलाई प्राथमिकता दिँदै दाबी फर्छ्यौट कार्यलाई तीव्रता दिएको हो ।

कम्पनीका अनुसार उक्त आन्दोलनका क्रममा व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्ति तथा उद्योग–व्यवसायमा पुगेको क्षतिको ३५७ वटा बीमा दाबीहरू प्राप्त भएका थिए । 

तीमध्ये हालसम्म १०५ वटा बीमा दाबी पूर्ण तथा अग्रिम भुक्तानीका रूपमा फर्छ्यौट भई कुल १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ ।

प्रारम्भिक रूपमा कम्पनीले ५ अर्ब ४९ करोड बराबरका दाबीहरू प्राप्त गरेको थियो । कम्पनीका अनुसार बाँकी दाबीहरूको मूल्यांकन तथा फर्छ्यौट प्रक्रिया निरन्तर भइरहेको छ ।

यसअघि २०८१ साल असोज महिनामा आएको बाढीबाट प्रभावित बीमितहरूको दाबी पनि सहज रूपमा फर्छ्यौट गरी आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको कम्पनीले दावी गरेको छ । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रतिकूल परिस्थितिमा पनि बीमितको साथमा रही सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
 

Share News