गणपति सिमेन्टमा नयाँ लगानीकर्ताको प्रवेश, ‘विनायक’  र ‘गणपति’  ब्रान्डका नयाँ सिमेन्ट ल्याउँदै

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका- ६ मा रहेको गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ताको आगमन भएको छ ।

शुक्रबार कम्पनीले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अघि बढेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंको नेतृत्वमा गठित नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गरी देशको निर्माण क्षेत्रमा सशक्त योगदान पुर्याउने लक्ष्य लिएको छ । 

अध्यक्ष चौलागाईसँगै अमेरिकामा करिब १५ वर्षदेखि निर्माण तथा विभिन्न व्यवसायमा संलग्न एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य गर्न थालेका हुन् ।

विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने कार्ययोजना अघि बढाइएको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

उनका अनुसार कम्पनीले ‘विनायक’ र ‘गणपति’ ब्रान्डका नयाँ सिमेन्ट बजारमा ल्याउँदै देशभरका प्रमुख सहरहरूमा बिक्री सञ्जाल विस्तार गर्ने तयारी गरेको छ ।

उद्योगको पुनः सञ्चालनसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन र स्वदेशी ब्रान्डको सुदृढीकरण हुने कम्पनीको विश्वास छ ।

गणपति सिमेन्ट इन्डस्ट्रीजले आगामी दिनमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजनासमेत सार्वजनिक गरेको छ।

Share News