काठमाडौं । नेपाल-चीन जोड्ने तातोपानी नाका दशैंपछि नियमित सञ्चालनमा आएको छ । विगत एक हप्तादेखि नाकाको सञ्चालन सामान्य अवस्थामा रहेको र तिहारलक्षित आयात बढेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार दशैंको नवमीको दिनपछि केही समय समस्या आए पनि अहिले भने नाका नियमित रूपमा सञ्चालित छ ।
‘दशैंपछि त नियमित नै खुलेको छ, कुनै समस्या छैन,’ उनले भने।
अहिले नाकाबाट भित्रिने कुल सामानको करिब ८० प्रतिशत तिहार लक्षित रहेको अधिकृत चुडालले जानकारी दिए।
उनका अनुसार चीनबाट मुख्यगरी तिहारमा प्रयोग हुने ड्राइफ्रुट्स, फलफूल, लत्ताकपडा र बिजुलीका झिलिमिली तथा अन्य सामानहरू आयात भइरहेका छन् । ३ करोड रुपैयाँको आयात भएको भन्सार कार्यालयले जनाएको छ।
नाकामा गाडीको आवागमनमा भने केही उतारचढाव देखिएको छ । कहिले धेरै गाडी आउने र कहिले कम आउने गरेको ती भन्सार प्रमुख अधिकृत चुडालले बताए ।
आइतबार भने नाकाबाट करिब ३० भन्दा बढी गाडी भित्रिएको उनले जानकारी दिए । ती गाडीमा मुख्यतया फलफूलहरू रहेको बताइएको छ ।
त्यस्तै, नियमित रूपमा विद्युतीय सवारीसाधन (ईभी) हरू पनि नाकाबाट भित्रिरहेको उनले जानकारी दिए ।