काठमाडौं । निजी मेडिकल सञ्चालकहरूले आफूहरूलाई बैठकमा बोलाएर अपमान गरेको बताएका छन् । आन्दोलनरत नर्सहरूको तलब स्केलका विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा बैठक आयोजना गरेको र त्यसमा सहभागी भएर छलफल गरिरहेका बेला आफूमाथि बैठकमै अपमान गर्दा बैठक छोडेर भाग्नु परेको बताएका छन् ।
एशोसियसन अफ मेडिकल डेन्टल कलेज नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र एशोसिएसन अफ प्राइभेट अस्पताल नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद रिजालले संयुक्त विज्ञप्ति निकाल्दै आफूमाथि बैठकमा अपमानजनक व्यवहार हुँदा बैठकबाट निस्कनुपरेको बताएका छन् ।
‘औपचारिक वार्ता भइरहेको क्रममा आआफ्ना तर्फबाट विषयवस्तु राख्दै गर्दा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा 'माफिया' लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिवद्ध रहँदै आएको भन्दै नर्सहरूको योगदानको सम्मान गर्दै मागहरू प्रति सकारात्मक रहेको बताएका छन् । तर, यस्तो अपमानजनक व्यवहारले वार्ताको वातावरण बिगार्नुका साथै आपसी विश्वासमा आघात पुर्याएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा उल्लेख गर्न चाहन्छौ यस्तो अवस्था सिर्जना हुनुमा राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापन जिम्मेवार छ । सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको हो। त्यसैले, यस घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।’