आन्दोलनरत नर्सका समस्या समाधान गर्न सात वटै प्रदेशमा कार्यदल गठन

काठमाडौं । संघर्षरत नर्सहरूको समस्या सम्बोधन गर्न सरकारले सातवटै प्रदेशमा कार्यदल गठन गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सात वटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल ७ वटै प्रदेशमा गठन गर्ने र सो कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको जनाइएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णयबाट नर्सिङहरूको सेवा, सुविधाका विषयमा छलफल गर्न समिति गठन गरेकी थिइन् । जसमा प्रधानमन्त्री कार्कीले अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन ७ दिनभित्र पेस गर्नुपर्ने बताएकी छन् । 

समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ । उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्ससहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन समितिले भनेको छ।

Share News