काठमाडौं । नेपालीहरूको दोस्रो महान चाड तिहार सुरु भइसकेको छ । तिहारका लागि अति महत्त्वपूर्ण खाद्यपदार्थमा पर्ने ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतको ड्राइफ्रुट्स सबैभन्दा धेरै खपत हुने गर्दछ ।
नेपाल कृषिप्रधान देश भएपनि कृषिसँग सम्बन्धित प्रायः सबै खाद्यपदार्थ विदेशबाट आयात गर्ने गरेको छ । यति मात्रै होइन, मूल्यको हिसाबले सबैभन्दा धेरै महंगो पर्ने ओखर, बदामजस्ता ड्राइफ्रुट्स आयातमा पनि नेपालले वार्षिक अर्बौं रकम खर्च गर्दै आएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा ओखर, बदाम, काजु, नरिवल, छोकडा र पिस्ता आयात गर्दा १६ अर्ब ९ करोड ४ लाख रुपैयाँ बाहिरिएको छ ।
नेपालमा सबैभन्दा धेरै ओखर आयात हुने गरेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार पाँच आर्थिक वर्षमा ५ अर्ब ४० करोड ४५ लाख रुपैयाँको आयात भएको छ ।
भन्सार विभागका अनुसार ओखरपछि नेपालमा सबैभन्दा धेरै काजु ३ अर्ब ७९ करोड ९४ लाख रुपैयाँको भित्रिएको छ । त्यस्तै, पाँच वर्षमा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको बदाम, ३ अर्ब २० करोड रुपैयाँ बराबरको नरिवल, १८ करोड ६३ लाख रुपैयाँको छोकडा र ८ करोड २३ लाख रुपैयाँ बराबरको पिस्ता आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
ओखर आयात तथ्यांक
नेपालमा ओखरको व्यवसायिक खेती छैन । नेपालमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा केही मात्रामा ओखर उत्पादन भइरहे पनि व्यवसायिक रूपमै खेती नहुँदा आयात गरेरै खानुपर्ने अवस्था छ । तथ्यांकअनुसार वार्षिक एक अर्ब रुपैयाँ बराबरको ओखर आयत हुँदै आएको छ ।
भाइटीकामा अति आवश्यक मानिने ओखर स्वास्थ्यको हिसाबले पनि फाइदाजनक मानिन्छ । जसको कारण पछिल्लो समय ओखर आयात बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
तथ्यांकअनुसार आव २०८१/८२ मा ओखर आयातमा सबैभन्दा धेरै नेपाली रुपैयाँ विदेशिएको छ । उक्त आवमा १ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ बराबरको ओखर आयत भएको छ । त्यसपछि आव २०८०/८१ मा १ अर्ब १४ करोड १३ लाख रुपैयाँको ओखर आयात भएको छ ।
आव २०७७/७८ मा १ अर्ब ५ करोड ९७ लाख रुपैयाँ, आव २०७८/७९ मा ७२ करोड ८५ लाख रुपैयाँ र आव २०७९/८० मा ९१ करोड ५२ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ ।
काजु आयात तथ्यांक
नेपालमा खासै उत्पादन नहुने र मूल्यको हिसाबले पनि महंगो पर्ने काजु आयात आव २०७७/७८ मा सबैभन्दा बढी आयात भएको देखिन्छ भने आव २०८०/८१ मा घटेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा १ अर्ब १७ करोड २३ लाख रुपैयाँको आयात भएको छ ।

त्यस्तै, आव २०७८/७९ मा १ अर्ब १७ करोड २५ लाख रुपैयाँ आयात भएको छ । आव २०७९/८० यता भने काजु आयातमा केही कमी आएको देखिन्छ । तथ्यांकअनुसार आव २०७९/८० मा ५६ करोड ७ लाख रुपैयाँ, आव २०८०/८१ मा ३६ करोड १५ लाख रुपैयाँ र आव २०८०/८१ मा ५३ करोड २२ लाख रुपैयाँ आयात भएको छ ।
बदाम आयात तथ्यांक
अत्यन्तै महंगो मानिने र नेपालमा मधेसी बदामको रूपमा चिनिने यो ड्राइफुड्स पनि वार्षिक करोड रुपैयाँ बराबरको आयात हुँदै आएको छ । भन्सार विभागको तथ्याकअनुसार आव २०७७/७८ मा ९१ करोड २४ लाख रुपैयाँको बदाम आयात भएको छ ।
आव २०७८/७९ मा ८४ करोड १८ दाख रुपैयाँ, आव २०७९/८० मा ५५ करोड ५३ लाख रुपैयाँ, आव २०८०/८१ मा ४३ करोड रुपैयाँ र आव २०८०/८१ मा ६७ करोड ७२ लाख रुपैयाँको आयात भएको छ ।
नरिवल आयात तथ्यांक
नेपालका तराई क्षेत्रमा उत्पादन हुने नरिवल पनि दशैं तिहारको समयमा बढी खपत हुने गरेको छ । तथ्यांकअनुसार नेपालमा नरिवल आयातमा पनि ठूलो रकम विदेसिने गरेको छ ।
आव २०८१/८२ कै तथ्यांक हेर्ने हो भने ८६ करोड १४ लाख रुपैयाँको नरिवल आयात भएको छ । आव २०८०/८१ मा भने नरिवल आयात केही घटेको देखिन्छ । उक्त आवमा ३९ करोड ३१ लाख रुपैयाँको नरिवल आयात भएको छ ।

आव २०७७/७८ मा ६४ करोड ६२ लाख रुपैयाँको नरिवल आयात भएकोमा आव २०७८/७९ मा बढेको छ । उक्त आवमा ८२ करोड २५ लाख रुपैयाँको नरिवल आयात भएको छ ।