काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनमा घरमा भएको आगलागीमा गम्भीर घाइते भएकी चित्रकारको अहिले भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ ।
खनालका स्वकिय सचिव कृष्ण भट्टराईका अनुसार चित्रकारको स्वास्थ्य अवस्था पहिलेभन्दा निकै राम्रो भएको छ । 'निकै सुधार भएको छ, तर अझै पनि चिकित्सकहरूको निगरानीमा राख्नुपर्ने भएकाले उहाँ अस्पतालमै हुनुहुन्छ' भट्टराइले भने । उनका अनुसार चिकित्सकहरूले चित्रकारलाई क्रमिक रूपमा सामान्य जीवनतर्फ फर्काउने तयारी गरिरहेका छन्।
भदौ २४ गतेको बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा आगलागी भएको थियो । घटनामा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको र देब्रे हातमा गम्भीर चोट लागेको बताइएको छ । सुरुमा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, संक्रमण बढ्ने जोखिम देखिएपछि थप उपचारका लागि भारतको अपोलो अस्पताल लगिएको हो ।
अपोलो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको बर्न र रिकन्स्ट्रक्टिभ सर्जरीका विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको उपचार गरिरहेको जनाइएको छ । अस्पतालका अनुसार, उपचारको पहिलो चरण सफल भएको छ र अहिले उनको शरीरमा संक्रमण नियन्त्रणमा छ ।
अपोलो अस्पतालले जारी गरेको चिकित्सकीय बुलेटिनमा चित्रकारको अवस्था स्थिर र सुधारोन्मुख रहेको उल्लेख छ । परिवारले केही दिनभित्र उनलाई सामान्य वार्डमा सार्ने योजना रहेको बताएको छ ।
पत्निको उपचारकालागी दिल्लीमा रहेका नेकपा एसका नेता खनाल पार्टीको केन्द्रीय कमिटी बैठककालागी सोमबार काठमाडौं आएका छन् ।