सरकारको निर्धारण मूल्यमा आजदेखि धान खरिद सुरु, किसान उत्साहित

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सरकारद्वारा तोकिएको मूल्यमा धान खरिद अभियान सुरु गरेको छ । किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यसहित कम्पनीले यो आर्थिक वर्षका लागि धान खरिद प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो । 

सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३,६२८ रुपैयाँ ३३ पैसा राखिएको छ ।

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार आजदेखि कैलालीको धनगढी लगायत पश्चिम तराईका क्षेत्रमा खरिद सुरु गरिएको छ । 

‘पश्चिम नेपालमा धान छिटो भित्रिने भएकाले त्यहीँबाट खरिद सुरु गरिएको हो, क्रमशः पूर्वतिर धान पाक्दै गएपछि खरिद केन्द्र सर्दै लैजाने योजना छ,’ आचार्यले भने । 

यस वर्ष कम्पनीले प्रारम्भिक चरणमा १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । धान खरिदका लागि कम्पनीले देशभरका १३ वटा शाखा कार्यालयहरू महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडबाट सेवा सञ्चालन गर्नेछ । 

सरकारी मूल्यमा धान खरिद सुरु भएपछि किसानहरू उत्साहित भएका छन् ।  किसानहरूले सरकारको यो पहलले बजारमा मूल्य स्थिर रहनुका साथै उनीहरूलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । 

Share News