काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचान र कारबाहीका लागि प्रमाण संकलन गर्ने उद्देश्यले सूचना बैंक स्थापना गरेको छ ।
पार्टीका एक नेताका अनुसार आन्दोलनका समयमा विभिन्न व्यक्तिहरूले टिकटक, रिल तथा अन्य सामाजिक सञ्जालमा राखेका भिडिओ र तस्विरहरूबाट प्रमाण संकलन गरी सुरक्षित राख्ने तयारी भइरहेको छ । नयाँ प्रमाणहरू फेला परेमा ती पनि केन्द्रीय स्तरमै भण्डारण गरिने उनले जानकारी दिए ।
एमालेले देशभरका सरकारी कार्यालय, प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनासम्बन्धी सबै प्रमाण संकलन गर्न केन्द्रीय कार्यालयमा विशेष डेस्क स्थापना गरीएको जनाएको छ ।
पार्टीका अनुसार यस अभियानको मुख्य उद्देश्य ती घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानूनी कारबाहीका लागि आवश्यक प्रमाणिक आधार तयार गर्नु हो ।