प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । बुधबारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गरे । 

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको जिकिर थियो । उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पारे । 

उनले भने, ‘अब चुनावमा जाने बाहेक विकल्प छैन । चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भिर रुपमा उठेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ । तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ । यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन् ।'

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरु लाग्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । 
 

Share News