काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको सैद्धान्तिक आधार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन् । बुधबारदेखि सुकेधारामा सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालले वाम एकता र समाजवादी क्रान्तिको आवश्यकता भएको बताएका छन् ।
उनका अनुसार क्रान्ति पूरा गर्न समान विचार, सिद्धान्त र कार्यदिशा भएका कम्युनिष्ट घटकबीच एकता अपरिहार्य छ । नेपालले भने, 'एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र संगठनात्मक सिद्धान्तमा समानता हुनुपर्छ । यी विषयमा सहमति बिना एकता सम्भव छैन ।'
प्रतिवेदनमा समाजवादी मोर्चा वाम एकताको तयारीको चरण भएको उल्लेख गरिएको छ । उनले माओवादीको मार्गदर्शक सिद्धान्त माओवाद नभई माक्र्सवाद–लेनिनवाद हुनुपर्ने धारणा समेत राखेका छन् ।
नेपालले नेपाली क्रान्तिको जनवादी चरण पूरा भइसकेको र देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको सैद्धान्तिक व्याख्या पनि अध्यक्ष नेपालले गरेका छन् । उनका अनुसार, हाल नेपाली समाजमा आम जनता र दलाल–नोकरशाही पुँजीपति वर्गबीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध हो ।
नेपालका अनुसार माओवादीसँग नेकपा एसका सबै निती, विचार र कार्यक्रम मिल्छन् । यहि आधारमा हामी एकताको चरणमा प्रवेश गरेका हौँ ।
अध्यक्ष नेपालले भने, 'कम्युनिष्ट एकता आजको आवश्यकता हो । समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति चाहिन्छ, र त्यो शक्ति क्रान्तिकारी कम्युनिष्टहरूबीचको एकताबाटै निर्माण हुन्छ ।'
तर, उनले पार्टी एकता भावनात्मक रूपमा नभई स्पष्ट सैद्धान्तिक आधारमा हुनुपर्नेमा जोड दिए । उनका अनुसार, पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा समानता अनिवार्य छ ।
उनले थपे, यी विषयहरूमा समान धारणा र सहमति बनेपछि एकता गर्न ढिलाइ गर्नुहुँदैन । समान विचार, सिद्धान्त, कार्यक्रम र रणनीतिक लक्ष्य भएका कम्युनिष्ट घटकसँग एकताको पहल हामीले नै गर्नुपर्छ ।
नेपालले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (...) हुनुपर्ने, नेपाली क्रान्ति जनवादी चरण पार गरी समाजवादी चरणमा प्रवेश गरेको मान्नुपर्ने, र माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार्नुपर्ने धारणा दोहोर्यााए । साथै, उनले साम्राज्यवाद, प्रभुत्ववाद र नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार, यी सैद्धान्तिक अवधारणाहरूमा समानता बिना एकता हुन सक्दैन, तर समान धारणा भएका शक्तिसँग एकताको सम्भावना देखिए हामी कहिल्यै नकारात्मक हुने छैनौं ।