बीमा कम्पनीहरुमा २३ अर्ब २३ करोड दाबी, २ अर्ब ७९ करोड भुक्तानी


काठमाडौं । गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको हालसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ दाबी परेको छ । 

बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ९ गतेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १८७ वटा बीमा दाबीको २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ दाबी परेको छ । कुल दाबीमध्ये हालसम्म बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देखिएको छ । उक्त कम्पनीले ३९७ वटा दाबीको ५ अर्ब ४९ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । कम्पनीले हालसम्म १ अर्ब २८ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ । दोस्रो धेरै क्षतिको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ५ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको ९९ वटा दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीले १ करोड ६६ लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ ।

तेस्रोमा आइजीआई प्रिडेन्सियल इन्स्योरेन्सले २१५ वटा दाबीको २ अर्ब ७९ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये हालसम्म कम्पनीले ३१ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्राधिकरणका अनुसार शिखर इन्स्यारेन्समा २ अर्ब ४१ करोड २९ लाख रुपैयाँ बराबरको ४३५ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५८ करोड ३० लाख रुपैयाँको ३४२ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १४ करोड ९० लाख रुपैयाँको २६४ वटा, हिमालयन एभरेष्ट इन्स्यारेन्समा ९७ करोड १४ लाख रुपैयाँको २७१ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ९२ करोडको १७६ वटा दाबी परेको छ ।

जसमा हालसम्म शिखरले ५८ करोड ३२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ७ करोड २४ लाख रुपैयाँ, नेकोले ९ करोड ८० लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५ करोड ६० लाख, सानिमा जिआइसीले ७ करोड १४ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले २३८ वटा दाबीको ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २०८ वटा दाबीको ६३ करोड ६४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २४७ वटा दाबीको ५८ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १०९ वटा दाबीको ४६ करोड ९५ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म युनाइटेडले १ करोड ७८ लाख रुपैयाँ, एनएलजीले २ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६ करोड ११ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

लघु बीमा कम्पनीहरुमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड ४९ लाख रुपैयाँको दाबी परेकोमा हालसम्म २ लाख भुक्तानी गरेको छ । स्टार माइक्रोमा ७२ लाख दाबी परेकोमा हालसम्म भुक्तानी गरेको छैन । त्यस्तै ट्रस्ट माइक्रोमा ६५ लाख र नेपाल माइक्रोमा ५९ लाख रुपैयाँको दाबी परेको छ।  जसमा ट्रस्ट माइक्रोले २२ लाख रुपैयाँ र नेपाल माइक्रोले १२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

Share News