पुल निर्माणपछि १० किलोमिटर छोटियो यात्रा, ४ करोडमा बन्यो पुल

काठमाडौं । झापाको मेचीनगर नगरपालिका-१५ भएर बग्ने निन्दा खोलामा ४ करोड २० लाख १९ हजार रुपैयाँ लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ ।

मेचीनगर-१५ मा निन्दा नदीमाथि चौधरी चोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए । 

 पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपर्थ्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्याउन तथा त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको  स्थानीय भटभटिया राजवंशीले बताए । 

‘पहिले ज्यानलाई नै जोखिममा पारेर नदी तरिन्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ,’ विगतको पीडा राजवंशीले स्मरण गर्दै उनले भने । 

Share News