जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

कैलाली । कैलारी गाउँपालिका-५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।

गाउँका सबैले कठरियालाई स्नेहपूर्वक 'रामदास डाक्टर' भनेर सम्बोधन गर्छन् । तर उनी न त डाक्टर न वैद्य नै हुन् । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन् ।

हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन् । उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउँछन् । छामेरै भन्छन्, 'यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।' त्यसपछि उपचार गर्छन् । आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्यांक छैन ।

त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका हाेइनन् । उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे ।

त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे । अहिले त्यही सीप उनको परिचय बनेको हो ।

४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको । उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् ।

कठरियाको उपचार शैली पनि सरल छ । उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उनको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउँछन् ।

उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्। उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उनले उपचारको शुल्क निर्धारण गर्दैनन् । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उनले धन्यवादसहित ग्रहण गर्छन् ।

भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्छन्, 'मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौं, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।'

हरेक गाउँमा उनले उपचार गरेका अनेकौं उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उनीकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् ।

उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन्। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउँछन् । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउँछन् ।

उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । 'मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,' उनी भन्छन्, 'उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।'

उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहन्छन् । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उनी भन्छन् 'अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।' रासस

Share News