काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालस्थित कोरिया गणतन्त्रका राजदूत पार्क ते यङबीच सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ ।
भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल–कोरियाबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले कोरियाको सहयोगमा सञ्चालित परियोजना तथा कार्यक्रमहरूको प्रगति सन्तोषजनक रहेको बताए र आर्थिक साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
सो अवसरमा राजदूत पार्क ते यङले कोरिया सरकारको सहयोग निकाय कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सहकार्य ३० वर्ष पूरा भएको उल्लेख गर्दै यस अवधिमा भएको समन्वय र साझेदारीप्रति सन्तोष व्यक्त गरे । उनले कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने तथा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी, राजदूतले कोरिया सरकारले नेपाली कामदारलाई रोजगारीका लागि पठाउने प्रक्रिया सहज बनाउन छुट्टै भिसा सेन्टर स्थापना गर्ने तयारी गरिएको जानकारी गराए । साथै, ईपिएस प्रणाली अन्तर्गत कोरिया गएका र फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धनका लागि कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रक्रियामा सरकार अगाडि बढिरहेको उल्लेख गर्दै यसका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध गरे ।