काठमाडौं । सारडा ग्रुप र राठी ग्रुपको प्रिमियर स्टीलले एक वर्षमा साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२५ मा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले जनाएको छ । जुन गत वर्षको तुलनामा कम हो ।
सन् २०२४ मा कम्पनीले ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
प्रिमियर स्टील प्रालि अगस्ट १, २०१६ मा स्थापना भएको कम्पनी हो, जुन सन् २०२३ मा प्रिमियर स्टील लिमिटेडमा परिणत भएको थियो । कम्पनीमा सारडा ग्रुपका शिवरतन शारडा र राठी ग्रुपको मुख्य लगानी रहेको छ ।
कम्पनीको सुनसरी दुहबीमा १ लाख ८० हजार टन बार र १ लाख २० हजार टन बिलेट उत्पादन प्लान्ट रहेको छ । जुलाई २०२५ को मध्यसम्म वीरेन्द्र राठी र प्रदीप कुमार शारडाको कम्पनीमा ११ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी अन्य सेयरधनीहरूको स्वामित्व कायम छ ।
इन्फोमेरिक्स रेटिङले कम्पनीलाई दीर्घकालिन ऋणका लागि डबल बी माइनस र अल्पकालिन ऋणका लागि एफोर रेटिङ प्रदान गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालिन १ अर्ब ५६ करोड १३ लाख रुपैयाँ दीर्घकालिन र ३ अर्ब १७ करोड रुपैयाँ अल्पकालीन गरी कुल ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ ऋण लिएको छ ।
नेपालको सबैभन्दा पुरानो वायर तथा केबल उत्पादक कम्पनीमा प्रिमियर स्टीलले जीआई वायर, ग्याबियन बक्सेस, एसीएसआर कन्डक्टर, पीभीसी केबल र अन्य स्टीलजन्य वायर, कपर वायर, कन्डक्टर र केबल उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।