काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका–९, चित्लाङ क्षेत्रमा एनटी फाइबर (एफटीटीएच) सेवा विस्तार गर्दै आधुनिक इन्टरनेट तथा टेलिफोन सेवाको सुरुवात गरेको छ । कार्तिक १८ गते श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममार्फत टेलिफोन तथा इन्टरनेट सहितको फाइबर टु दि होम (एफटीटीएच) सेवा औपचारिक रूपमा सुरु गरिएको हो ।
यससँगै चित्लाङ क्षेत्रमा पहिलोपटक फाइबर प्रविधिमार्फत आधारभूत आवाज सेवा र उच्च गतिको इन्टरनेट उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका अनुसार चित्लाङ पर्यटकीय एवं ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएकाले आधुनिक प्रविधियुक्त सञ्चार सेवा विस्तार गरिएको हो । ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै केही विद्यालय तथा संस्थाहरूमा सेवा जडानको प्रक्रिया अघि बढिसकेको छ ।
हाल रेडियो ब्याकहोलमार्फत सेवा सञ्चालन गरिएको भए पनि निकट भविष्यमा फाइबर ब्याकहोलमार्फत सेवा प्रवाह गरी टेलिफोन, इन्टरनेटसँगै टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ ।
नेपाल टेलिकमले चित्लाङमा सञ्चार पहुँच विस्तारसँगै डिजिटल समावेशीकरण, शिक्षा, व्यवसाय तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।