कांग्रेसमा महाधिवेशन मिति विवाद, सभापति खड्काले भने - यादवको प्रस्ताव व्यक्तिगत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा तीव्र मतभेद चर्किँदै गएको छ । पछिल्लो पटक स्थगित बैठकको दोस्रो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको कार्यतालिका पार्टीको आधिकारिक प्रस्ताव नभई व्यक्तिगत धारणा भएको स्पष्ट पारे ।

बैठक सुरु हुनेबित्तिकै खड्काले भने, 'मिडिया र सामाजिक सञ्जालमा निर्णयका रूपमा कुरा आइरहेका छन्, तर सहमहामन्त्रीको प्रस्ताव व्यक्तिगत मात्र हो ।' उनका अनुसार महाधिवेशनको मिति पार्टीको सामूहिक निर्णयबाट मात्रै तय हुनेछ ।

हिजोको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । त्यसको जवाफमा सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्ने वैकल्पिक तालिका प्रस्तुत गरेका थिए । यादवको प्रस्तावलाई संस्थापन पक्षले गगन थापाको प्रस्तावको प्रतिवादका रूपमा व्याख्या गरेको थियो ।

तर आजको बैठकमा कार्यवाहक सभापति खड्काले उक्त प्रस्तावलाई औपचारिक मान्यता नदिँदै, त्यसले भ्रम सिर्जना गरेको बताए । उनले पार्टी एकताको आवश्यकता औंल्याउँदै भने, 'महाधिवेशन हाम्रो साझा प्रक्रिया हो, यसलाई गुटगत प्रतिस्पर्धा बनाउनुहुँदैन ।'

कांग्रेसभित्र अहिले महाधिवेशन चुनावअघि गर्ने कि चुनावपछि भन्ने विषयमा तीव्र विवाद देखिएको छ । महामन्त्री थापाको नेतृत्वमा रहेको समूहले चुनावअघि नयाँ नेतृत्व चयन गरी जनतामाझ जानुपर्ने धारणा राखेको छ । 

जबकि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काको पक्षले आगामी चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने तर्क प्रस्तुत गरेको छ ।

Share News