काठमाडौं । बीमा कम्पनीका सिइओहरुले बीमा कम्पनीको पुँजी वृद्धिको योजना उपर्युक्त भएको बताएका छन् । बीमा समितिले जीवन बीमा २०७५ असार भित्र जीवन बीमा कम्पनीको पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब पुर्याउनुपर्ने नयाँ व्यवस्था लागु गर्नु ठिक भएको उनीहरुले बताएका हुन् ।
बिकासन्युजँग कुरा गर्दै नेपाल लाइफ इन्स्योरेन्सका सिइओ विवेक झाले बीमा क्षेत्रको बजार विस्तारकै अनुपातमा पुँजी वृद्धिको योजना आउनु सराहनिय कदम भएको बताए । उनले भने–व्यापारकै अनुपातमा पुँजी वृद्धि भएको छ, यसले कम्पनीहरुको दिगोपनाका लागि पनि मदत नै गर्छ ।
|
झाले बजार वृद्धिकै आकारमा पुँजी वृद्धि गर्नुपर्ने महशुस गरेरै आफ्नो कम्पनीले ३ अर्ब चुक्ता पुँजी पुर्याएको दावी पनि गरे ।‘हामीले बजार विस्तार र कम्पनीको दिगोपनका लागि समितिले निर्देशन दिनु अघि नै तीन अर्ब पुँजी पुर्याईसकेका छौं’, झाले भने ।
सिद्धार्थ इन्स्योरेन्सका सिइओ बिरेन्द्र वैद्वारले पनि बीमा कम्पनीहरुको पुँजी वृद्धि सम्बन्धी बीमा समितिको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘हामीले जुन लेभलमा पुँजी वृद्धि हुनुपर्छ भनेका थियौं, त्यहि आकारमा भएको छ, समय सिमा पनि उपयुक्त नै छ’, वैद्वारले विकासन्युजसँग भने ।
उनले एकाध कम्पनी बाहेक सबैले तोकिएको समयभित्रै बोनस सेयर र केहि मात्रामा हकप्रद सेयर जारी गरेर पुँजी वृृद्धि गर्न सम्भव रहेको पनि दावी गरे ।‘अधिकांश कम्पनीले बोनस र थोरै हकप्रद सेयर जारी गरेर तोकिएको समयभित्रै पुँजी वृद्धि गरिसक्ने अवस्था देखिन्छ’, वैद्वारले भने ।
उनले पनि लामो समयसम्म बीमा कम्पनीहरुको पुँजी वृद्धि नभएको तर व्यापार भने ठुलो मात्राले वृद्धि भैकसकेकाले बीमा क्षेत्रको दिर्घजीवनका लागि पनि समितिको कदम ठिक रहेको बताए ।