काठमाडौं । जेनजी प्रदर्शनमा लागेको आगलागीपछि मोरङ जिल्ला अदालतले इजलास अभावमा स्तनपान कक्षमै इजलास सञ्चालन गरेको छ । अदालतका दुई भवनमा ११ वटा इजलास सञ्चालनमा रहेका मध्ये आगलागीपछि दुईवटा इजलासलाई स्थान अभाव भएको हो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ९ वटा इजलास रहेको मुख्य भवनमा रहेका ४ नम्बर र १ नम्बर इजलासलाई स्थान अभाव भएको छ । इजलासका लागि स्थान अभाव भएपछि पुरानो स्तनपान कक्षलाई इजलासको रूपमा विकास गरिएको बुढाथोकीले जानकारी गराए । तर त्यहाँ पनि मुद्दाको सुनुवाइ हुन सक्ने अवस्था छैन । उनका अनुसार सानो ठाउँमा दुईवटा इजलास राखिएकोले सुनुवाइ गर्न नसकिएको हो ।
'स्थान अभावले मुद्दाको सुनुवाइ त रोकिएको छ नै, चालु मुद्दाका १ हजार ४१ वटा मिसिल जलेका कारण मुद्दाको निरन्तरतामा पनि समस्या आएको छ,' बुढाथोकीले भने । फैसला लेखिँदै गरेका ९० वटा मिसिल नष्ट भएकाले फैसला भएर पनि पक्षहरूले न्याय पाउन नसकेको जानकारी उनले दिए ।
बुढाथोकीका अनुसार फौजदारी अभियोगका १० वटा मिसिल दैनिक रूपमा रिकभर भइरहेका छन् । दुनियाबादी मुद्दाका फाइलहरू मुद्दाका पक्ष र वकिलहरूसँग सहयोग मागेर मिसिल बनाउने काम भइरहेको छ ।
अदालतमा २००१ सालदेखिका १ लाख ४९ हजार मिसिल जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा जलाइएको पाइिएको छ ।