विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं । देशभर इन्टरनेट सेवाको माग तीव्र गतिमा बढ्दै गएसँगै नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । वि.सं. २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीलाई लक्षित उक्त अफर शुक्रबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुभारम्भ गरे ।

मन्त्री खरेलले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सूचना प्रविधिमा पहुँच बढाउन टेलिकमले गरेको पहल प्रशंसनीय रहेको बताउँदै, यसले डिजिटल समावेशितामा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले टेलिकमलाई ग्राहक वृद्धि र सेवा विस्तारका लागि प्रभावकारी बजारीकरण रणनीति अपनाउन निर्देशनसमेत दिए ।

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले नेपाल टेलिकमले नाफाभन्दा सेवा केन्द्रित दृष्टिकोणका साथ काम गर्दै आएको बताइन् । उनले सेवा विस्तारसँगै आम्दानीका सम्भावित क्षेत्र पहिचान गरी राजस्व वृद्धिमा पनि जोड दिनुपर्ने उल्लेख गरिन् ।

यस अफर अन्तर्गत विद्यार्थीहरूले ४ हजार ९९९ रुपैयाँ (करसहित) मा ३० मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सेवा एक वर्षका लागि पाउनेछन्। यो सेवा २०८२ माघ २२ गतेसम्म उपलब्ध हुनेछ । यसमा ५०० रुपैयाँ जडान शुल्क थप लाग्नेछ । साथै, प्रत्येक विद्यार्थीले १ थान दोहोरो ब्यान्ड क्षमताको मोडेम (सीपीई) र १०० मिटर फाइबर तार निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

अफरका लागि विद्यार्थीहरूले १९८ मा सम्पर्क गरेर माग प्रणाली (डिमान्ड पोर्टल) मार्फत वा नजिकको टेलिकम कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन् । आवेदनका साथ विद्यार्थी परिचयपत्र, जन्ममिति खुल्ने प्रमाणपत्र र (नाबालिगको हकमा) अभिभावकको नागरिकता वा अन्य प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

फाइबर सेवा समाप्त भएपछि सोही प्याकेजमा नवीकरण गर्न नपाइने भएकाले विद्यार्थीहरूले आवश्यकता अनुसार टेलिकमका अन्य उपलब्ध प्याकेजहरू चयन गरी सेवा निरन्तर प्रयोग गर्न सक्नेछन् ।

जडानसम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइट वा ग्राहक सेवाकेन्द्र १९८ मा सम्पर्क गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

Share News