काठमाडौं । नेपाल स्काउट शुद्धीकरण अभियान र नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले स्काउटभित्र देखिएका आर्थिक अनियमितता, विकृति र विसंगतिबारे छानविन गर्न स्वतन्त्र समिति गठन गर्न माग गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुबै संगठनले युवा तथा खेलकुद मन्त्रालयलाई महालेखा परीक्षक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्दोलनरत संस्था तथा नेपाल स्काउटका प्रतिनिधिलाई समावेश गरी छानविन समिति गठन गर्न आग्रह गरेका हुन् ।
नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले स्काउटभित्रका बेथिति, भ्रष्टाचार र गैरजिम्मेवार गतिविधिका विरुद्ध आफूहरू निरन्तर आन्दोलनरत रहेको बताएका छन् । उनका अनुसार तत्कालीन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको पालादेखि नै आन्दोलन जारी रहेको र सम्बन्धित निकायले अझै गम्भीर ध्यान नदिएको बताइएको छ ।
संघर्षरत समूहले स्काउट संस्था युवाको चरित्र निर्माण र सामाजिक नेतृत्व विकासका लागि स्थापित भए पनि पछिल्ला वर्षमा यस संस्थाभित्र आर्थिक पारदर्शिताको अभाव र आन्तरिक राजनीति हावी भएको आरोप पनि लगाएका छन् ।
उनीहरूले छानविन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहरिएका व्यक्तिलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।


