काठमाडौं । हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ५४.६१ प्रतिशत घटेर ९ करोड २ लाख ५८ हजार रुपैयाँ गरेको छ । जबकि गत वर्षको असोजमा १९ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आवको असोज मसान्तसम्ममा कम्पनीको कुल बिक्री आम्दानी २७.६४ प्रतिशत घटेर १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४८ करोड ६६ लाख १४ हजार रुपैयाँ कुल बिक्री आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कसल नाफा १५.१६ प्रतिशत घटेर ३६ करोड १० लाख रुपैयाँ र सञ्चालन नाफा ५२.४७ प्रतिशत घटेर १२ करोड ५७ लाख रुपैयाँ गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ र जगेडा कोष ३२.६५ प्रतिशत बढेर १ अर्ब १८ करोड ९४ हजार रुपैयाँ रहेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १८.०२ रुपैयाँ घटेर ११.७५ रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.०४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ ।
समीक्षा अवधिमा देशभर परेको भारी वर्षाबाट बाढी पहिरो, डुबानका कारण मदिराको विक्री वितरण गर्न प्रत्यक्ष प्रभाव पर्यो भने तराईमा भएको डुबानका कारणबाट स्थानीय स्तरमा हुने मदिरा कारोबार तथा खपतमा समेत प्रत्यक्ष प्रभाव परेको कम्पनीले जनाएको छ ।
साथै, जेनजी आन्दोलनको प्रभाव पनि देशभर परेको र आन्दोलनको प्रभाव मदिरा खरिद बिक्रीमा मात्र नभई केही समय सम्म उत्पादनमा समेत परेको कम्पनीको दाबी छ । सो आन्दोलनको प्रभाव अहिलेसम्म पनि उद्योगी, मदिरा व्यवसायीमा रहेको कम्पनीले जनाएको छ । जसबाट मदिरा व्यवसायले आफ्नो लय लिन कठिनाइ परिरहेको कम्पनीको भनाइ छ ।