काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी र आचारसंहिता कार्यान्वयनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा बिहीबारदेखि सुरु भएको छलफलमा मुख्य दलका प्रतिनिधिहरू सहभागी रहेको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले प्रस्तावित नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी र तमलोपा लगायतका दलहरू सहभागी छन् ।
बैठकमा आगामी निर्वाचनमा निष्पक्षता कायम राख्नका लागि दलहरूले पालना गर्नुपर्ने आचारसंहिता, उम्मेदवारका व्यवहारिक मापदण्ड, र संवैधानिक आयोग तथा जनप्रतिनिधिहरूले पालना गर्नुपर्ने आचरणका विषयमा विस्तृत छलफल भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइका अनुसार छलफलपछि दलहरूबाट प्राप्त सुझावका आधारमा आचारसंहिताको अन्तिम मस्यौदा तयार पारिनेछ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो बनाउन सबै दलहरूको सहकार्य आवश्यक रहेको बताएको छ ।