भयरहित वातावरण सृजना गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभर भयरहित वातावरण सृजना गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले भदौ २३ र २४ गतेको आन्दोलनपछिका घटनामा लुटिएका हतियार र भागेका कैदीका कारण देशमा भय उत्पन्न भएको निष्कर्ष निकाल्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालले समितिलाई आगामी निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । समितिले फागुन २१ गतेकालागि तोकिएको निर्वाचनलाई लक्षित गरी देशभर सुरक्षाको व्यवस्थापन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन प्रहरीको मनोबल उच्च राख्दै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू संकलन गर्न र हतियार लुट्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

समितिले निर्वाचन सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउन र सार्वजनिक विश्वास कायम राख्न सुरक्षा संयन्त्रलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।
 

Share News