काठमाडौं । मेटलाइफ नेपालले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टअनुसार कम्पनीले यस अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो आवको सोही त्रैमासिकको तुलनामा मेटलाइफको व्यवसायमा सुधार देखिएको छ । यस त्रैमासमा कुल बीमाशुल्कमा १५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै प्रथम तथा एकल बीमाशुल्क १७ प्रतिशतले बढेको छ भने नवीकरण बीमाशुल्क पनि १५ प्रतिशतले बढेको छ ।
रिपोर्टअनुसार सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशत वृद्धि हो । मेटलाइफको जीवन बीमा कोष ३०.६० अर्ब रुपैयाँमा पुगेको छ भने पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७० लाख नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको जगेडा तथा कोष ४.४६ अर्ब रूपैयाँ रहेको छ ।