हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, न भाटभटेनी रहन्छ न कसैको लगानी : व्यवसायी गुरुङ

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । 

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गरे । दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरू भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताए । आफूमाथि धेरै युवाहरूको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताए । 

नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको बताए । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आफ्नो इच्छाको कुरा भएको बताए । आफूले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहनदार विद्यार्थीलाई एमबिबिएस पढाएको जानकारी दिए । 

उनले भने, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’

उनले व्यवसायीहरूले सानो मन गर्न नहुने बताए । आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिन सकेको बताउँदै अरूले पनि त्यसैगरी दिन सक्ने बताए । नेपालमा धेरै कुराको अवसर रहेको जानकारी दिए ।    

Share News